यात्रा अघि
मैले रेलको यात्रा रोजें । मलाई यात्रा भनेको डेढ घण्टामा सकिने हुनुपर्छ जस्तो लाग्दैन । प्लेनमा नजाँदा बसमा जानुपर्ने भएको भए सायद म प्लेनको यात्रा रोज्थें होला किनकि मलाई बसको यात्रामा आराम हुँदैन । तर रेलमा म लोभिएकी छु । केही वर्ष अघि दाजुसँग दिल्लीबाट गोरखपुरसम्म रेलमा आएकी थिएँ, साह्रै आनन्द लागेको थियो । मलाई तराईको बन र समथर भुमि देखेपछि आँखा मोड्नै मन लाग्दैन ।
सबैजनाको कुरा सुन्दा डराउनुुपर्ने कारण पनि छ । सबैको प्रश्न हुन्छ “को साथी छ?”
होइन, म एक्लै जाने हो ।
“एक्लै?” टाउकोमा एउटा चक्र घुमे झैं हुन्छ मान्छेहरुले भाइब्रेसन आउनेगरी यो प्रश्न सोध्दा...। तर साथी खोज्न थाल्या भए हरिद्वार जाने मेरो योजना अनिश्चित बन्नेथियो यो मलाई थाहा छ । दिदीले र दाजुले “केयरफुल बन, जाऊ” भनेपछि मलाई आँट बढाउन अरु केही चाहिएन । अरुले भनेका कुरालाई मनन गरेर म केयरफुल त बन्छु तर डराएर थुरथुर चाहिं बन्दिन । हो, साढे चौध घण्टाको यात्रा गर्नुछ, म हिन्दी भाषा बुझेपनि बोल्न जान्दिन र साथमा दुईवटा ब्याग छन् अनि एउटा ह्याण्ड क्यारी पनि... । मेरो फुच्चे, हार्डडिस्क, माइक लगायतका संवेदनशील कुराहरु पनि छन् । तर मेरो एउटा गतिलो एसेट भनेको म इन्डियन जस्ती देखिन्छु लगभग विहारी जस्तै, यसकारण रेलवे स्टेसनमा मलाई नेपाली भन्ने सोचेर नै दुःख दिनेकाम खासै नहोला । अंग्रेजी बोल्न मलाई समस्या छैन र म चञ्चल छैन । केटीमान्छे भएकाले पाउने दुःखबाट बँच्न मैले जे उपाय गर्नुपर्छ त्यो तुरुन्तै त्यही बेला गर्ने कुरा हो, प्लान स्लान काम लाग्दैन ।
मलाई के थाहा छ भने म मान्छे भएको ठाउँमा जाँदैछु र मान्छेसँग यात्रा गर्दैछु । अनि मलाई थाहा छ मानवता मरेको छैन । चाहे नेपाली हुन्, चाहे भारतीय हुन् चाहे अरु कोही... मान्छे त हुन् नि । बोल्न नजाने मान्छे संकेतले काम चलाउँछन् र पनि राम्रैसँग आफ्नो काम गर्छन् । डिभि परेर अमेरिका गएका कतिपय नेपाली अंग्रेजी बोल्नै नसक्दा, अंग्रेजी भाषा सुन्ने पटक्कै बानी नहुँदा पनि त्यहाँ काम गरेरै बसेका छन्, राम्रैसँग आफुलाई स्थापित गरेका छन् । मलाई हिन्दी बुझ्न त समस्या छैन, बोल्न मात्रै हो, अंग्रेजीमा जवाफ दिउँला । के फरक पर्छ? एक रातको यात्रा न हो । फेरि राति कोसँग कति नै बोल्नुपर्छ र? पढेर बस्न किताब बोकेकै छु क्यारे ।
हिजो मीनाक्षीको साथीहरुले “गोरखपुर भनेको विहार हो र त्यहाँ विहारीहरुले आफ्नो पारा देखाउँछन्” भन्नुभयो । म त्यो पाराको लागि तयार त छु तर मेरो लागि विहार फेरिएको छ । मानिसहरुको पहिलेको अनुभव अनुसारको वातावरण छैन भन्ने मेरो अनुमान छ किनकी सुचनाको हकको उपयोग गरी मानिसहरुले विहारमा जुन किसिमको विकास र परिवर्तन ल्याएका छन् त्यही अनुसार उनीहरुको सोच तथा व्यवहारमा पनि परिवर्तन आएको छ भन्ने मेरो विश्वास छ । म विहारलाई कम आँकलन गर्दिन । भ्रष्टाचारले ग्रस्त भएर विकासको बाटोमा लम्कनै नसकेको त्यो ठाउँमा सुचनाको हकको भरपुर उपयोग भएर उल्लेखनीय प्रगति हुँदा हामीले भने रेडियो कार्यक्रममा उनीहरुको उदाहरण दिंदै आफ्नो देशमा सुचनाको हकका बारेमा सबैलाई थाहा हुनुपर्छ भन्नुमा सीमित रहनुपरेको यथार्थ अनुभव मसँग छ । कतिपय संचारकर्मी तथा संचार विषयका शिक्षकहरुमा अनि सुचनाको हकका क्षेत्रमै काम गरिरहेका छौं भन्ने कतिपय मानिसहरुमासमेत सुचनाको हकको प्रशस्त ज्ञान नभएको अवस्थामा बाँच्नुपरेको मान्छे देशको मान्छे म, म विहारबासीलाई सम्मान गर्छु । आचरणगत हिसाबमा विहारका कतिपय मानिस खराब थिए होलान् या आज पनि छन् होला, मैले थोर धेर दुःख व्यहोर्नुपर्छ होला तर समयसँगै उनीहरुको व्यवहार र आचरण पनि परिवर्तन हुन्छ भन्ने कुरामा म विश्वस्त छु । म मानिसहरुप्रति आशावादी छु । हाम्रो देशमा पनि सुचनाको हकको वृहत रुपमा उपयोग हुन्छ भन्ने कुरामा पनि आशावादी छु र मानिसले मानिसलाई गर्ने व्यवहार सुमधुर हुन्छ भन्ने कुरामा पनि ।

Tuesday, February 28, 2012 10:05:00 AM
And then what happened in reality? How was your Trip?